नियम ३०क
रजिष्ट्रीको सोधपूछ र क्षतिपुर्ति
(१) मनासिब माफिकको समयभित्र ठेगानावालालाई रजिष्ट्री प्राप्त हुन नसकेमा प्रेषकले रजिष्ट्री दर्ता गरेको हुलाक कार्यालय वा क्षत्रिय
हुलाक निर्देशनालयमा सोधनी दस्तुरको टिकट टाँसी नेपाल भित्र पठाएको रजिष्ट्रीको हकमा सो दर्ता भएको मितिले ६ महिना भित्र र विदेशमा पठाएको रजिष्ट्रीको हकमा एक वर्षभित्र खोज तलासको लागि आवेदन दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिमको म्याद भित्र आवेदन परेमा सम्बन्धित हुलाक कार्यालयले उक्त रजिष्टरी आन्तरिक रजिष्टरी भए जुन बाटोबाट गएको छ सोही बाटोबाट सोधनी गरिनेछ । बैदेशिक रजिष्टरी भए विश्व हुलाक संघको कन्भेन्सन मुनासिव इन्क्वायरी फाराम भरी सोधनी गरिनेछ ।
(३) रजिष्टरी हराएको ठहरेमा हराए वापत प्रत्येक रजिष्टरीको आन्तरिक रजिष्टरी भए तीन सय रूपैयाँसम्म र बैदेशिक रजिष्टरी भए विश्व हुलाक संघको कन्भेशनले तोके अनुसारको रकम प्रेषकलाई दिइनेछ । तर त्यस्तो क्षतिपुर्तिको अङ्क प्रेषकले ठेगानावालालाई दिन चाहेमा ठेगानावालालाई नै दिइनेछ ।
(४) क्षतिपुर्ति पाइसकेपछि कुनै किसिमले हराएको रजिष्टरी प्राप्त हुन आएमा जुन अवस्थामा प्राप्त हुन आएकोछ सो अवस्थाको रजिष्टरी लिन ठेगानावाला र प्रेषकलाई सूचना गरिनेछ । ठेगानावाला वा प्रेषकले रजिष्टरी फिर्ता लिन आएमा पहिले क्षतिपुर्ति वापत लिइसकेको रकम फिर्ता बुझाउनु पर्नेछ ।